भारतमा कोरोना : एकैदिन ५१ हजार २३२ जना निको भए, थपिए ५४ हजार बढी संक्रमित

भारतमा कोरोना : एकैदिन ५१ हजार २३२ जना निको भए, थपिए ५४ हजार बढी संक्रमित
आइतवार, साउन १८, २०७७

काठमाडौं- भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनप्रतिदिन बढ्दो क्रममा देखिएका छन् ।

लगातार तेस्रो दिन ५४ हजार भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका छन् ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका थिए । शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् ।

बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १७ लाख ५१ हजार ९१९ जना पुगेका छन् । मृतक ३७ हजार ४०३ पुगेका छन् । शनिबार ८५२ जनाको ज्यान गएको छ ।

शुक्रबार ७६४ जनाको ज्यान गएको थियो । बिहीबार ७८३ जनाको ज्यान गएको थियो । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो ।

हाल ५ लाख ६७ हजार २०५० जना सक्रिय संक्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा ५१ हजार २३२ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । गत बिहीबार त्यतिन्जेलको सबैभन्दा बढी ३७ हजार ४२५ जनालाई निको भएको थियो ।

हालसम्म ११ लाख ४६ हजार ८७९ जनालाई निको भइसकेको छ ।

शनिबार लगातार दोस्रो दिन भारतले ब्रजिललाई पनि उछिनेको छ । ब्रजिलमा ४२ हजार ५७८ जना संक्रमित भएका छन् । शुक्रबार ब्रजिलमा ५२ हजार ५०९ जना संक्रमित थपिएका थिए ।

समग्रमा ब्रजिल दोस्रो तथा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा ४७ लाख ६३ हजार ६०७ जना संक्रमित पुगेका छन् । मृतक १ लाख ५७ हजार ८७७ पुगेका छन् । ब्रजिलमा २७ लाख ८ हजार ८७६ संक्रमित पुगेका छन् । मृतक ९३ हजार ६१६ पुगेका छन् ।