केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह
आइतवार, साउन १८, २०७७

सिन्धुपाल्चोक – छिमेकी मुलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ ।

ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ ।”

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।