अब चार हजार तिरेर कोरोना परीक्षण गर्न पाइने

अब चार हजार तिरेर कोरोना परीक्षण गर्न पाइने
आइतवार, साउन १८, २०७७

काठमाडौँ- शुल्क तिरेर कोरोना परीक्षण गर्न चाहनले अब चार हजार रूपैयाँ तिरे पुग्ने भएको छ ।

लिएर कोभिड–१९ आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको हो । सरकारले तोकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब ५०० ले घटाएको हो ।

विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क चार हजार ५०० बाट घटाएर चार हजार कायम गरिएको जनाएको छ ।

प्रारम्भिक परीक्षणको नतिजाअनुसार चार हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख वीके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए ।

सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गत मङ्गलबार सो प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो ।

प्रयोगशालाबाट दैनिक चार हजार २०० बढी नमूना परीक्षण गर्न सकिने प्रमुख भण्डारीले जानकारी दिए ।

ललितपुरको कुपण्डोलमा रहेको सो प्रयोगशालामा पाँच थान पीसीआर  मेसिन र पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ ।

प्रयोगशालाले यसअघि पाँच घण्टामा दिइँदै आएको ‘रिपोर्ट’ अब चार घण्टामा दिने तयारी गरेको पनि उनले बताए । प्रयोगशालाले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गर्दै आएको छ ।