कोरोना जोखिमको वेवास्ता गर्दै महादेब गुफामा भक्तजनको घुईचो

कोरोना जोखिमको वेवास्ता गर्दै महादेब गुफामा भक्तजनको घुईचो
सोमवार, साउन १९, २०७७

गणेश उप्रेती

उदयपुर-मिनी हलेसी भनेर चिनिने उदयपुरको कटारी नगरपालिका–३ ताराघारी महादेब गुफामा भक्तजनको भिड लागेको छ । हरेक बर्ष साउन महीनाको सोमबार मन्दिर क्षेत्रमा दर्शनार्थीहरुको ठुलो भीड लाग्दै आएको छ । हिन्दहरुको धार्मिक आस्था बोकेको उदयपुरको ताराघारीस्थित मिनीहलेसीमा कोरोना कहरकबीच पनि ठुलो भिड लागेको छ ।

पूर्वपश्चिम राजमार्गबाट उत्तर सिद्धिचरण राजमार्गको मिरचैया–कटारी खण्ड अन्तर्गत ताराघारीमा रहेको मिनि हलेसी मन्दिरमा भक्तजनको भिड लागेको हो । ताराघारीबाट १ किलोमीटर घना जंगल विचमा गुफा क्षेत्रमा मनोकाक्षा पुरा हुने भन्दै ठुलो भिड लाग्ने गरेको छ । उदयपुर र आसपासका क्षेत्रका लागि ताराघारी महादेव गुफा धार्मिक पर्यटनको लागि परिचित गन्तव्य हो ।

यसलाई मिनी हलेसी नामले पनि चिनिने गरेको छ । ताराघारी महादेब गुफामा दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने, चितायको मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यस वर्ष कोरोना कहरका कारण गुफा ब्यबस्थापन समितिले प्रचार प्रसार नगरे पनि दैनिक पूजापाठ गर्नका लागि मात्र गुफा खोलिएको हो ।

तर, मानोकाक्षा पुरा हुने विश्वासका र मनोकामना पुरा भएको भन्दै कोरोनाको त्रासदीमा समेत भक्तजनहरुको घुँइचो लागेको हो । कोरोना सावधानी अपनाउँदै दर्शनका लागि पुगेका कतिपय भक्तजनले त कोरोनाबाट मुक्तिका लागि समेत कामना गरेका छन् । बर्षातको समयमा यात्रा नै जोखिमपूर्ण हुने भएपनि स्वस्फूर्त भक्तजन पूजा आराधाना गर्न पुगेका छन् ।

ताराघारी गुफा क्षेत्रमा साउनको सोमबार हजारौ दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ भने गुफा क्षेत्र आसपास गणेश, शिव र नागहरुको आकृति रहेको ढुङ्ग्गाहरु प्रशस्त रहेका छन् । धार्मिक आस्था भएकै कारण धेरै वर्षअघिबाट त्यस गुफा क्षेत्रमा पूजापाठ हँुदै आएको छ ।

अहिले स्थानीय जनप्रतिनिधिहरुपनि गुफा संरक्षण तथा मन्दिर क्षेत्रको जिर्णोद्धार गरी धार्मिक आस्थासँगै पर्यटकीय आकर्षण बढाउन कम्मर कसेर लागिरहेको वडाध्यक्ष रामबहादुर पोखरेल बताउँछन् । धार्मिक र पर्यटकीय संभावना बोकेर पनि प्रचार प्रसारको अभावमा ताराघारी महादेव गुफामा अहिलेसम्म उदयपुर र आसपासका क्षेत्र बाहेक अन्यत्रका दर्शनार्थी भक्तजन पुग्न सकेका छैनन् ।

तर, कोरोनाकै त्रासमा पनि ताराघारी महादेव गुफा क्षेत्रमा यस बर्ष भक्तजनहरुको भिड बढि लागेको छ । विगतका बर्षमा गुफा क्षेत्र जाने सडक तथा अन्य सुविधा नभएको कारण थोरै मात्र भक्तजनहरु जाने गुफा क्षेत्रमा हाल कटारी नगरपालीकाले गुफा क्षेत्रको व्यवस्थापनमा ध्यान दिएसंगै दर्शनार्थीहरुको संख्या पनि ह्वात्तै बढेको हो ।

तर कोरोना कहर समुदाय क्षेत्रमा फैलि सकेको कारण खोजिम उच्च भएको समयमा मानोकाक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरुको भिड लाग्दा जोखिम भने अझ बढिरहेको छ । यसतर्फ मन्दिर व्यवस्थापन, स्थानीय सरकार र भक्तजनहरु संवयम् सचेत हुन आवश्यक छ ।