गाईमा पनि देखियो नयाँ भाइरस

गाईमा पनि देखियो नयाँ भाइरस
सोमवार, साउन १९, २०७७

तनहुँ – तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पालेको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो ।

नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । डा.श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो ।

अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई केही गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा.श्रेष्ठले जानकारी दिए ।

यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा.श्रेष्ठले बताए ।

डा.श्रेष्ठका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ ।