सुर्खेतमा मल अभाव

सुर्खेतमा मल अभाव
सोमवार, साउन १९, २०७७

सुर्खेत – धान गोडमेल गर्ने ‘सिजन’ शुरु भइसक्दा पनि मल नपाएपछि कृषकहरू चिन्तित बनेका छन्।

कोरोना भाइरसविरुद्धको महामारीबाट सुरक्षित रहन सरकारले चार महिना लामो बन्दाबन्दी (लकडाउन) गरेपछि रासायनिक मल ढुवानी हुन नसकेको हो ।

यसपालि मलबिनै खेत गोडमेल गर्नुपरेपछि किसानलाई उब्जनी कम हुने चिन्ता छ । वीरेन्द्रनगर नगरपालिका–४ का किसान अग्नि चौधरीले खेत रोप्ने बेलादेखि गोडमेल गर्ने बेलासम्म युरिया मल नपाएको बताए ।

‘अधियाँमा धान रोपेका थियौँ, मल नहुँदा उब्जनी कम हुने देखियो,’ उनले भने, ‘उब्जनी कम हुँदा अधियाँबाट खासै फाइदा हुँदैन, दुःख अनुसार प्रतिफल आउँदैन ।’

वीरेन्द्रनगर–३ पतेनीका किसान ओमप्रसाद भण्डारीले अघिल्ला वर्षमा मलका कारण राम्रै उब्जनी गरेको बताउँदै यसपालि खाद्यान्नको अभाव हुने चिन्ता व्यक्त गरे ।

वीरेन्द्रनगरका चौधरी र भण्डारी मात्र नभई कर्णालीका अधिकांश किसानले मल पाएका छैनन् । मलको अभाव भई धानबालीमा आफूहरुको मेहनत र लगानी खेर गएको किसान बताउँछन् । स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी सङ्घ–संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् ।

मल आपूर्ति गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम केसीले रासायनिक मल (युरिया) कर्णालीमा मात्र नभई देशैभर अभाव रहेको बताउँदै भने, ‘लकडाउनले गर्दा युरिया मल नेपालमै भित्रिएको छैन, डिएपी मल भैरहवासम्म आइपुगेको छ ।’

सरकारले सहुलियतमा उपलब्ध गराउने मल नपाएपछि कृषिसँग सम्बन्धित सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि ज्ञापनपत्र बुझाएका थिए ।