सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा

सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा
फाइल तस्वीर
सोमवार, साउन १९, २०७७

काठमाडौँ- क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने १४ दिनको क्वारेन्टिनमा बसेका छन् ।

सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरू हुँदैछ ।

‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो’, उनका व्यवस्थापक रमन शिवाकोटीले भने ।

यसबीचमा सन्दीपले आफ्नो कोरोना परीक्षणसमेत गराउनु पर्नेछ । ‘परीक्षण रिपोर्टपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”, उनले भने ।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका थिए ।