नातेदारबाटै एसिड आक्रमण हुने गरेको एक तथ्याङ्क

नातेदारबाटै एसिड आक्रमण हुने गरेको एक तथ्याङ्क
सोमवार, साउन १९, २०७७

काठमाडौं-नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बदला लिने, प्रेम सम्बन्ध सफल नहुने जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताए । संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले भएको बताए ।

प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरुप बनाउने उद्देश्यले २ वटा एसिड आक्रमणका घटना भएको उनले बताए । महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी हुने गरेको उनले बताए । एसिड जस्ता रासायनीक पदार्थहरु आयात गर्ने उद्योग प्रतिष्ठान सम्बन्धि ऐन कानून भएपनि विक्रि वितरणका लागि कुनै कानून छैन ।

नेपालमा सबै भन्दा बढी ब्याट्री तथा इन्भर्टरहरुमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ । इलेक्ट्रोनिक तथा सोलार इभर्टर उपलब्ध हुने ठाउँहरुमा यो सुलभ रुपमा पाइन्छ ।

सरकारले एसिडको विक्रि वितरण र एसिड आक्रमण गर्नेलाई कडा कानूनी व्यवस्था गरे एसिड आक्रमणका घटनामा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा ८ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।