विज्ञको सुझावका आधारमा लकडाउनबारे निर्णय गर्ने प्रधानमन्त्री ओलीको तयारी

विज्ञको सुझावका आधारमा लकडाउनबारे निर्णय गर्ने प्रधानमन्त्री ओलीको तयारी
सोमवार, साउन १९, २०७७

काठमाडौँ- काठमाडौँ उपत्यकामा नै कोरोना भाइरसका संक्रमित बढेपछि सवारीसाधनमा जोरविजोरदेखि लकडाउन लगाउनु पर्ने सम्मका चर्चा चुलिएका छन् ।

संक्रमण फैलन रोक्ने हो भने जोरविजोर प्रणाली तत्कालै लागू गर्नु पर्ने र नाका हदैसम्मको कडाईँ गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिमा प्रस्ताव नै पठाइसकेको छ ।

संक्रमित बढेपछि ठाउँठाउँमा स्थानीय तहले निषेधाज्ञा र लकडाउन नै गरेपछि सरकार अब के गर्ने भन्ने दबाबमा परेको छ । यावत पृष्ठभूमिकाबीच प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे निर्णय गर्न जनस्वास्थ्यविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई मंगलबार छलफलका लागि बोलाएका छन्।

समय तय नभइसके पनि उक्त छलफलपछि ओली आवश्यक निर्णयमा पुग्ने सरकारी अधिकारीहरूले बताएका छन् ।