आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट
मङ्लबार, साउन २०, २०७७

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरे ।

उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुँदै स्वार्थका पछाडी कुदेको टिप्पणी गरे ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिंदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।