कोरोनाले पुर्‍यायो शिक्षकलाई विद्यार्थीको घरदैलो

कोरोनाले पुर्‍यायो शिक्षकलाई विद्यार्थीको घरदैलो
मङ्लबार, साउन २०, २०७७

कैलाश लामा

दोलाखा-कोरोना भाइसरको संक्रमणले मुलुक प्रभवित हुँदा शैक्षिक क्षत्र नराम्ररी प्रभावित भएको छ । बिद्यार्थी र शिक्षक विद्यालयमा जान बन्द हुँदा कतिपय परीक्षा प्रभावित भएर विकल्प खोज्नु प¥यो भने नयाँ शैक्षिक सत्रमा कुनैपनि कक्षा संचालन हुन सकेका छैनन् । यस्तो अवस्थामा दोलखाको भीमेश्वर नगरपालिकाले भने वर्कसिट मार्फत पठनपाठनको थालनी गरेको छ ।

कोभीड–१९ को संक्रमणले मुलुक आक्रान्त बनिरहेको बेला अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्र अन्योलमा परेको छ । संक्रमणकै डरले करिव चार महिना देखि विद्यार्थीहरु विद्यालय जान नसक्दा पठनपाठन ठप्प हुनुका साथै विद्यार्थीहरुमा अन्यौलता छाएको छ । बिद्यार्थी र शिक्षकबीच सिकाइ सहजीकरणका लागि अनलाइन कक्षाहरु सञ्चालनमा आएपनि ग्रामीण भेगमा प्रभावकारी हुँन सकेको थिएन ।

यसै कुरालाई मध्यनजर गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले भने वर्कसिट मार्फत सिकाइ सहजीकरणको थालनी गरेको छ । वर्कसिट मार्फत सिकाइ सहजीकरण गर्ने उदेश्यले शिक्षकहरु समुदायमानै पुग्न थालेपछि बिद्यार्थीहरु पनि उत्साहित भएका छन् भने अभिभावकहरुमा समेत खुशी भएका छन् ।

हाल सामुदायिक र संस्थागत दुबै बिद्यालयका शिक्षकले समुदायमा गएर विद्यार्थीलाई वर्कसिट वितरण तथा सहजिकरण गरिरहेका छन् ।एक हप्तापछि विद्यार्थीले पहिलो वर्कसिट तथा प्रश्न पत्रको क्रियाकलाप पूरा गरि पुनः शिक्षकलाई बुझाउनुपर्ने र विद्यार्थीहरुले गरेको क्रियाकलाप लिने र पृष्ठपोषण सहित दोस्रो वर्कसिट दिने प्रावधान वैकल्पिक सिकाइ सहजिकरण कार्यक्रममा रहेको छ ।

बिद्यार्थीले सम्पन्न गरेको दोस्रो वर्कसिटको क्रियाकलाप सम्बन्धित विषयका शिक्षकले परिक्षण गरेपछि पृष्ठपोषण सहित तेस्रो हप्ता अर्को वर्कसिट दिइन्छ । हाललाई तीन चरणमा पुरा हुनेगरि वर्कसिट तयार गरिएको शिक्षक हरि केसी बताउँछन् । घर तथा समुदायमा स्वअध्ययन गरि गृहकार्य, परियोजना कार्य, सिर्जनात्मक कार्य र प्रश्नहरु समेटी वर्कसिट तयार गरिएको छ ।

मुख्यगरि अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका प्रत्येकको २० पुर्णाङ्क गरि १०० पुर्णाङ्कको एउटा वर्कसिट तयार गरिएको छ । नगरपालिकाले शिक्षकहरूलाई अभिमुखिकरण गरि विषय विज्ञहरुको कार्यशालाबाट वर्कसिट तयार पारि प्रधानाध्यापक बैठकबाट कार्ययोजना तयार गरिएको भीमेश्वर नगर कार्यपालिकाका शाखा प्रमुख रामचन्द्र पौड्याल बताउँछन् ।

भीमेश्वर नगरपालिकामा ४२ सामुदायिक र १३ संस्थागत गरि ५५ वटा बिद्यालय छन् र निजी सामुदायिक गरि कक्षा १ देखि १० सम्म आठ हजार तीन सय ६८ जना विद्यार्थीहरु अध्ययनरत छन् । शैक्षिक सत्रलाई नगाभिने गरि नेपाल सरकारको निति अनुसार वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिइने यस्ता कार्यक्रमले सिकाइलाई निरन्तरता र शैक्षिक क्षति न्यून हुने विश्वास बढेको छ ।