बाँकेमा समुदायस्तरमै फैलियो कोरोना संक्रमण, थप ८१ संक्रमित भेटिए

बाँकेमा समुदायस्तरमै फैलियो कोरोना संक्रमण, थप ८१ संक्रमित भेटिए
बिहिबार, साउन २२, २०७७

मधु पौडेल

बाँके-बाँके ३ हजार ३ सय ३८ जनाको स्वाब परीक्षण गर्दा ८१ जनामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा गत असार ३० गतेबाट समुदायस्तरमा सुरु गरिएको कोरोना परिक्षणमा हालसम्ममा ३ हजार ३ सय ३८ जनाको स्वाब परिक्षण गरिएको छ ।

त्यसरी गरिएको परीक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रेष्ठका अनुसार ¥याण्डम स्याम्पलिङमा २ हजार २ सय २ जनाको कोरोना परिक्षण गर्दा ३४ जना संक्रमित फेला परेको र संक्रमित भेटिएका ती ३४ जनाको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा १ हजार १ सय ३६ जनाको कोरोना परीक्षण गर्दा थप ४७ जना संक्रमित फेला परेका हुन् ।

समुदायस्तरमा शंकास्पद स्थान, व्यक्ती, समूह हेरेर परीक्षणको दायर विस्तार गरिएको हो ।

त्यसमा सरकारी कार्यालय केन्द्रित साधारण मजदुर, यातायात मजदुर, फ्रन्टलाइनमा जोखिम समुहमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी, पत्रकार, भिडभाड हुने कार्यालय आन्तरिक राजस्व, यातायात, कारागार, बाल सुधार गृह, अदालत, स्थानीय तहका सेवा प्रदायक, क्वारेन्टिइन र आइसोलेसनमा सेवा प्रदान गर्ने व्यक्तिहरुका साथै स्थानीय तहले पहिचान गरेका कोरोनो संक्रमण हुन सक्ने सम्भाबित व्यक्तिहरुको गरी हालसम्म ३ हजार ३ सय ३८ जनाको स्वाब संकलन गरी पिसिआर जाँच गरिएको छ ।

जसमा २ दशम्लव ५१ प्रतिशतमा कोरोना संक्र,मण समुदायस्तरमै भेटिएको हो ।