बेरुत विस्फोटपछि लेबनानमा कोरोना संक्रमणको त्रास बढ्यो

बेरुत विस्फोटपछि लेबनानमा कोरोना संक्रमणको त्रास बढ्यो
शुक्रबार, साउन २३, २०७७

एजेन्सी- लेबनानमा कोरोनाभाइरस संक्रमणको घटना बढ्न सक्ने आकलन गरिएको छ।

राजधानी बेरुतमा मंगलबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा परेको चापका कारण संक्रमण बढ्न सक्ने त्यहाँका स्वास्थ्यमन्त्रीले आशंका व्यक्त गरेका छन्।

बेरुतको बन्दरगाह नजिकै असुरक्षित रुपमा भण्डार गरिएको एमोनियम नाइट्रेट विस्फोट हुँदा १३७ जनाको ज्यान गएको पुष्टि भएको छ भने करीब ५ हजार घाइते भएका छन्। यस्तै, दुई लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन्। सरकारले दुई साताको लागि संकटकाल घोषणा गरेको छ।

कोरोना महामारीका बीच आइपरेको यो विपत्तिका कारण संक्रमण दर बढ्न सक्ने चिन्ता व्यक्त गरिएको हो।

लेबनानका स्वास्थ्य मन्त्री हमद हसनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका छन्, “विस्फोटका घाइतेहरुको सहायतामा केन्द्रित हुनुपर्दा र स्वास्थ्य सुरक्षाको आपूर्तिको कमीले कोरोना संक्रमितको संख्या बढ्न सक्छ।”

यद्यपि उनले आगामी केही दिनभित्र कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालको व्यवस्था गरिने पनि बताएका छन्।

लेबनानमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ। जसमध्ये १ हजार ९७४ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् भने ७० जनाको मृत्यु भएको छ। अहिले त्यहाँ ३ हजार ६२८ सक्रिय संक्रमित उपचाररत छन्।