कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि उद्धार उडान नै रोक्ने तयारी

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि उद्धार उडान नै रोक्ने तयारी
शुक्रबार, साउन २३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन थालेपछि सरकारले विदेबाट नेपाली उद्धारका लागि गरिने उडानसमेत रोक्ने तयारी थालेको छ ।

सरकारले तत्काल पूर्ण लकडाउन लागू नगर्ने जनाए पनि यसअघ भदौ १ गतेबाट सञ्चालन गरिने भनेको लामो दूरीका सवारी साधन र आन्तरिक तथा बाह्य उडानमा समेत पुनःविचार गर्ने रणनीति अघि सारेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले उद्धार उडानसमेत रोक्ने गरी छलफल थालेको हो ।

देशभित्रै सङ्क्रमितको सङ्ख्या बढेको, समुदायस्तरमा कोरोना फैलन थालेको र विदेशबाट आउनेहरुमा पनि सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उद्धार उडान नै रोक्नेसम्मको छलफल भएको जनाइएको छ ।

बिहीबार गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सम्बन्धित मन्त्रालयका सचिवलगायतको बैठकले अवस्था भयावह हुन थालेको निष्कर्ष निकाल्दै भदौ १ गतेदेखि हुने भनिएको नियमित उडानको बारेमा पुनर्विचार गर्ने र उद्धार उडानसमेत रोक्नेसम्मको छलफल गरेको हो ।

छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार हवाई उडानको लागि अहिले भएका मापदण्ड र निर्देशिका परिवर्तन गरेर कडाइ गर्ने तथा यसको उल्लङ्घन गर्नेलाई तत्कालै कडा कारबाही गर्ने छलफल भएको जानकारी दिए ।

अहिलेसम्मको अवस्थालाई हेर्दा भदौ १ गतेदेखि दैनिक दुई/चार वटासम्म मात्रै भए पनि नियमित उडान गर्न सकिने तर अवस्था बिग्रिएमा यसलाई स्थगित गरिने उनले बताए ।