गौतम बुद्ध भारतीय नै हुन् : एस जयशंकर

गौतम बुद्ध भारतीय नै हुन् : एस जयशंकर
आइतवार, साउन २५, २०७७

काठमाडौँ – भारतले फेरि एक पटक भगवान् गौतम बुद्धमा आफ्नो दाबी गरेको छ ।

विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध भारतीय नागरिक नै रहेको दाबी गरेका हुन्।

शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको दाबी गरेका हुन् ।

‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका रूपमा स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । हामीले मात्रै होइन पूरा विश्वले उहाँहरूलाई महान् भारतीयका रुपमा चिन्छ,’ जयशंकरले भने ।

नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए।

तर, उनले त्यसपछि अर्थात दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमि रहेको बताएका थिए। लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतले आफ्नो दाबी गर्दै नक्कली लुम्बिनीसमेत बनाएपछि नेपालले त्यसको विरोध गर्दै आएको छ ।