गौतम बुद्ध भारतीय नागरिक भन्ने एस जयशंकरको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

गौतम बुद्ध भारतीय नागरिक भन्ने एस जयशंकरको अभिव्यक्तिमा कांग्रेसको आपत्ति
आइतवार, साउन २५, २०७७

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भनेर गरेको दाबीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको दाबी गरेका थिए।

यसबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार लगातार तीन वटा ट्वीट गरेर गम्भीर आपत्ति जनाएका हुन् ।

शर्माले ट्वीटमा लेखेका छन्, ‘बुद्ध नेपालमा जन्मिएका हुन्  भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।’

शनिबार प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालमा जन्मिएको दाबी दोहोर्‍याउँदै माडीमा राम, सीता, हनुमान र लक्ष्मणको मूर्ती बनाउन निर्देशन दिएका थिए ।

शर्माले भने, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति शर्मामो गम्भीर आपत्ति छ ।