गौतम बुद्धका विषयमा भारतको टिप्पणी आपत्तिजनक – परराष्ट्र मन्त्रालय

गौतम बुद्धका विषयमा भारतको टिप्पणी आपत्तिजनक – परराष्ट्र मन्त्रालय
आइतवार, साउन २५, २०७७

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नाकरिक’ भनेपछि नेपालले आपत्ति जनाएको छ ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले नै जयशंकरको अभिव्यक्तिलाई आपत्तिजनक भएको बताइरहँदा नेपालले पनि औपचारिक धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार एक बिज्ञप्ति जारी गर्दै बुद्ध जन्मभूमि भगवान् बुद्ध विवादको विषय नभएको जनाएको छ । मन्त्रालयले ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको जनाएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’

सारा विश्व समुदायलाई बुद्धिजम् नेपालबाट विश्वका मुलुकमा फैलिएको थाहा भएको समेत बिज्ञप्तिमा उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको बताएका थिए । उनले संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

एस जयशंकरको उक्त अभिव्यक्तिपछि नेपालमा उनको विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एस जयशंकरको यो भनाइ आपत्तिजनक रहेको बताएको छ ।