भारतीय विदेश मन्त्रालयको प्रष्टोक्ति – बुद्ध नेपालमै जन्मिएका हुन्

भारतीय विदेश मन्त्रालयको प्रष्टोक्ति – बुद्ध नेपालमै जन्मिएका हुन्
आइतवार, साउन २५, २०७७

काठमाडौँ – भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएको प्रष्ट्याएको छ ।

गौतम बुद्धका सन्दर्भमा भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिपछि नेपालको परराष्ट्र मन्त्रालयले आपत्ति जनाए लगत्तै  आइतबार भारतको विदेश मन्त्रालयले पनि  एक बिज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको उसले प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको- ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको बताएका थिए । जयशंकरको उक्त अभिव्यक्ति नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण दिइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।