गोगंवु हत्याका आरोपीको बयानः ‘सेक्सुअल ह्यारेसमेन्ट सहन नसकेर हत्या गरेँ’

गोगंवु हत्याका आरोपीको बयानः ‘सेक्सुअल ह्यारेसमेन्ट सहन नसकेर हत्या गरेँ’
मङ्लबार, साउन २७, २०७७

काठमाडौं । ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर आफैंले कृष्णबहादुर बोहोराको हत्या गरेको हत्या आरोपमा पक्राउ परेकी कल्पना मुडभरीले प्रहरी समक्ष स्वीकारेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार, आरोपी कल्पनाले प्रहरीमा दिएको बयान अनुसार, कृष्णबहादुरको हत्या उनैले गरेकी हुन् ।

एसएसपी ज्ञवाली भन्छन्, ‘८ महिनादेखि होटलमा बस्दै आएका कृष्णबहादुर र कल्पनाबिच विगत तीन÷चार वर्षदेखि फेसबुकबाट चिनजान भएको थियो । यही क्रममा कृष्णबहादुरले नक्कली फेसबुक आईडी बनाएर उनको नग्न तस्वीर सार्वजनिक गरेपछि रिसको झ्वाँकमा हत्या गरेकी हुन् ।’

हत्या अभियोगमा पक्राउ परेकी कल्पनाले मृतक कृष्णबहादुरले पटक/पटक ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले आवेशमा आएर हत्या गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् । प्रहरीमा दिएको बयान अनुसार, उनले शनिबार कृष्णबहदुरलाई आफ्नो कोठामा बोलाएर दही चिउरासँगै भोड्कामा निन्द्रा लाग्ने नशालु पदार्थ औषधि मिसाएर खुवाइन् । त्यही औषधीको प्रभावमा नशामा लट्ठ भएपछि ह्यामरले अण्डकोषमा प्रहार गरी बेहोस बनाइन् । लगत्तै सलले घाँटी थिचेर हत्या गरिन् ।

उनको मृत्यु भइसकेपछि आफ्नै किचेनमा भएको धारिलो हतियारले टाउको र खुट्टा छिनालेको र त्यसपछि टुक्रा टुक्रा शवलाई आफैसँग भएको झोला र सुटकेशमा हालेर सडकमा लगेर फालिदिएको उनको वयान छ । शव फालिसकेपछि उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन पुगेकी थिइन । प्रहरीले उनलाई सोमबार साँझ मात्र चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

परिसर प्रमुख एसएसपी ज्ञवाली भन्छन्, ‘उनकी १७ वर्षीया छोरीले समेत शव व्यवस्थापनमा सहयोग गरेको खुलेको छ ।’ उनि भन्छन्, ‘अभियुक्त कल्पनाले प्रहरीमा दिएको बयानमा हत्या आफू एक्लैले गरेको र शव व्यवस्थापनमा भने छोरीले सहयोग गरेको बताएकी छिन् ।’ प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ ।