विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप तयार पारेको रूसको दाबी

विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप तयार पारेको रूसको दाबी
तस्वीर : रोयटर्स
मङ्लबार, साउन २७, २०७७

एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलिएको झण्डै साढे सात महिनामा कोरोना भाइरसविरूद्धको खोप तयार भएको रूसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यो खोप उनकै छोरीमासमेत प्रयोग गरिएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् ।

उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।