भारतका पूर्वराष्ट्रपति मुखर्जी सिकिस्त, भेन्टिलेटरमा राखेर उपचार

भारतका पूर्वराष्ट्रपति मुखर्जी सिकिस्त, भेन्टिलेटरमा राखेर उपचार
मङ्लबार, साउन २७, २०७७

एजेन्सी – कोरोना भाइरसबाट संक्रमित भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी सिकिस्त भएपछि आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोभिड-१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार दिल्लीस्थित आर्मी आरआर अस्पतालमा भर्ना गरिएका मुखर्जीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको बताइएको छ।

अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए।