कोरोना उपचार कोषमा नेपाल बैंकद्वारा ३ करोड ४६ लाख सहयोग

कोरोना उपचार कोषमा नेपाल बैंकद्वारा ३ करोड ४६ लाख सहयोग
मङ्लबार, साउन २७, २०७७

काठमाडौं-नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयोग गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले पुर्‍याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए ।

उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउँदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सबैभन्दा पहिला सहयोगको घोषणा गरेको बताए ।

बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी दिए ।