बाढिले पुल बगाउँदा उद्धारमा कठिनाई

बाढिले पुल बगाउँदा उद्धारमा कठिनाई
बुधबार, साउन २८, २०७७

बाजुरा । बूढीगंगा नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाउँदा गौमूल गाउँपालिका–२ अजयटोड्की पुरा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

पुल बगाएकाले खोला तर्न नसक्दा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली प्रभावित स्थानमा नपुगी फिर्ता भएको छ ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । सो गाउँमा २० घरधुरीमा ९७ जना छन् ।

उनीहरुको हेलिकप्टरमार्फत उद्धारको पहल भईरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।