चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण

चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण
बुधबार, साउन २८, २०७७

चितवन । चितवनमा १६ सहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन्। अन्य ५ जना बाहिरी जिल्लाका भए पनि यहिँकै अस्पतालमा उपचाररत हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन्।

भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

मंगलबार ३ सय १० वटा नमूना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो।