डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३५ जना घाइते

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३५ जना घाइते
प्रतिकात्मक तस्बिर
बुधबार, साउन २८, २०७७

रोजेन्द्र जोशी
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताउनुभयो ।

वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।बस सडकबाट ३० मिटर तल खसेको थियो ।