जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न मुख्यमन्त्रीको आग्रह

जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न मुख्यमन्त्रीको आग्रह
बुधबार, साउन २८, २०७७

पाल्पा– प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरेका छन् ।

“जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं”, शुभकामना सन्देशमा भनिएको छ, “कोभिड९१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।”

पाल्पामा मनाइँदैँ आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढ्न आग्रह गरे ।