महाधिवेशनबाट सभापति देउवाको विकल्प खोजिने – पौडेल

महाधिवेशनबाट सभापति देउवाको विकल्प खोजिने  – पौडेल
बुधबार, साउन २८, २०७७

काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन । सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर देउवामा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको उनले बताए ।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनको भनाई छ । उनले भने ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको पौडेलले दावी गरे । पार्टीमा विधान मिचेको विषयलाई गम्भिरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए ।