बिश्वकप छनोटका बाँकी खेल स्थगित

बिश्वकप छनोटका बाँकी खेल स्थगित
बुधबार, साउन २८, २०७७

काठमाडौं। कतारमा सन् २०२२मा हुने फिफा विश्‍वकप र २०२३ चीनमा हुने एसियन कपको छनोट प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु स्थगित भएका छन् ।

अक्टोबर नोभेम्बरमा गर्ने तयारी गरिएका छनोटका बाँकी खेल कोरोना महामारीका कारण पुनः स्थगित भएका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अक्टोबर-नोभेम्बरमा खेलाइने तय भएका खेलहरु स्थगित भएको र अब उक्त खेलहरु २०२१ मा हुने जनाकारी गराएको छ ।

फिफा र एएफसीले दुवैको सहमतिमा खेलहरु स्थगित गर्ने निर्णय भएको एएफसीले जनाएको छ । अवस्था हेरेर नयाँ मिति तय गरिने छ ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले अब ३ खेल खेल्न बाँकी छ ।

अक्टोबर र नोभेम्बरमा खेल हुने तय भएका बेला अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडीहरुको पीसीआर टेस्ट गर्न समेत सुरु गरेको थियो । उनीहरुको टेस्ट रिपोर्ट भने आउन बाँकी छ ।

टेस्टपश्‍चात् एन्फाले भदौबाट एन्फाले खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको थियो ।