नारायणी अस्पतालमा मृत्यु भएका २ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालमा मृत्यु भएका २ जनामा कोरोना पुष्टि
शुक्रबार, साउन ३०, २०७७

नरेश सर्राफ
पर्सा-वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मृतक दुवै बाराका हुन् ।

बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवारको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु थियो । ४/५ दिनदेखि ज्वरो र खोकीको समस्याले देखिएका कलवारलाई बुधबार राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो । बिहीबार बेलुका नारायणी प्रयोगशालाबाट प्राप्त रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

त्यस्तै नारायणी अस्पतालमै उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमराका ५० वर्षीय शेख समिमुल हकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।