काठमाडौं प्रवेश गर्ने नाकामा कडाई, पैदल यात्रीलाई समेत रोक

काठमाडौं प्रवेश गर्ने नाकामा कडाई, पैदल यात्रीलाई समेत रोक
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोक्न काठमाडौं प्रवेश गर्ने नाकामा कडाई गरिएको छ । काठमाडौं उपत्यका भित्रिन खोज्ने सवारी साधन र यात्रुहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।

काठमाडौंका नागढुङ्गा, साँगालगाएतका स्थानमा प्रहरीले एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको छ ।

गृहमन्त्रालयले बिहीबारदेखि बाहिरी जिल्लाहरूबाट उपत्यका भित्रिनका लागि दिंदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको थियो ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए ।

साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनले बताए ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएका निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको छ ।