तरकारी र फलफुल व्यापारीमा कोरोना भेटिएपछि कालीमाटी, कुलेश्वरलगायतका क्षेत्र सिल

तरकारी र फलफुल व्यापारीमा कोरोना भेटिएपछि कालीमाटी, कुलेश्वरलगायतका क्षेत्र सिल
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएका छन । उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका–१४ ले कुलेश्वर, कालीमाटी र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो ।

बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना संक्रमण भएकोे काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन ।

बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना संक्रमण बढेको अनुमान गरिएको छ । तरकारी बजारका केही व्यक्तिमा कोरोना देखिएपनि कालिमाटी तरकारी बजार भने पूर्ण रुपमा बन्द भएको छैन ।

त्यस्तै, वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी रहेको वडा कार्यालयले जनाएको छ ।