लमजुङमा २ अर्ब २२ करोड बजेट फ्रिज

लमजुङमा २ अर्ब २२ करोड बजेट फ्रिज
शुक्रबार, साउन ३०, २०७७

लमजुङ । लमजुङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक बर्ष २०७६/७७ को लागि पठाएको दुई अर्ब २२ करोड २२ लाख २० हजार बजेट फ्रिज भएको छ ।

लमजुङलाई केन्द्रीय सरकार र प्रदेश सरकारबाट कूल ८ अर्ब९० करोड ५४ लाख १ हजार बजेट प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका प्रमुख भगवानप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार प्राप्त भएको रकममध्ये २ अर्ब २२ करोड २२ लाख २० हजार रुपियाँ फ्रिज भएको हो ।

लमजुङमा केन्द्रीय सरकारबाट ६ अर्ब ७ करोड ७ लाख ५५ हजार रुपैया बजेट प्राप्त भएको थियो भने प्रदेश सरकारबाट दुई अर्ब ८३ करोड ४६ लाख ४६ हजार रुपैया बजेट प्राप्त भएको थियो ।

त्यसमध्ये संघबाट प्राप्त ९८ करोड २५ लाख २१ हजार र प्रदेश सरकारबाट प्राप्त १ अर्ब २३ करोड ९६ लाख ९० हजार बजेट फ्रिज भएको हो ।

लमजुङमा गत बर्ष कूल बजेटमध्ये ७५ दशमलव २ प्रतिशत रकम मात्र खर्च भएको छ भने २४ दशमलव ८ प्रतिशत फ्रिज भएको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएको तथा कर्मचारीको अपर्याप्त र समयमै योजना कार्यान्वयनमा चासो नदिएका कारण जिल्लामा ठुलो बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख उप्रेतीले बताए ।

गएको आर्थिक बर्ष ०७५/०७६ मा १ अर्व ५० करोड ९० लाख ६५ हजार बजेट फ्रिज भएको थियो ।