नवलपरासीमा भदौ ६ गतेसम्म निषेधाज्ञा

नवलपरासीमा भदौ ६ गतेसम्म निषेधाज्ञा
शुक्रबार, साउन ३०, २०७७

नवलपरासी । समुदायमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न पाइने छैन । निषेधाज्ञा साउन ३१ गते शनिबार राति १२ बजे देखि भदौ ६ गतेसम्म लागू हुने छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जारी गरेको निषेधाज्ञामा सरकारी एवम् बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको छ ।

अनावश्यक रुपमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको भने चाडपर्व घरमै मनाउन सर्कुलर जारी गरीएको छ ।

एक स्थानीय तहबाट अर्को स्थानीय तहमा अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पछिल्लो पटक समुदायमै संक्रमणको जोखिम अझ बढ्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

जिल्लामा पाँचसय १६ जनाको समुदाय स्तरमा कोरोना परीक्षण गरिएकामा ४ जनामा कोरोना संक्रलमण पुष्टि भएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितकोे संख्या १ सय ३० पुगेको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि अहिले स्थानीय तहहरुले पनि परीक्षणलाई बढाउन थालेका छन् ।