जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द
शुक्रबार, साउन ३०, २०७७

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु आजबाट अनिश्चितकालका लागि बन्द गरिएका छन ।

जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता अपनाउन अर्को सूचना जारी नभएसम्मका लागि यस्तो निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु सञ्चालन रहने प्रजिअ भट्टराईले जानकारी दिए ।

संक्रमण बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार भित्र रहेर सेवा सटडाउन गर्ने निर्णय गरिएको उनले बताए ।