तनहुँमा समुदायस्तरमै कोरोना संक्रमण

तनहुँमा समुदायस्तरमै कोरोना संक्रमण
शुक्रबार, साउन ३०, २०७७

तनहुँ । तनहुँमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ ।

गत सोमबार ट्राझल हिस्ट्री नभएका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको कन्टयाक ट्रेसिङका आधारमा नमुना संकलन गरी गरिएको परीक्षणमा अहिले एउटै वडाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय र बन्दीपुर गाउँपालिका–५ का ३४ वर्षीय गरी २ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्ला बाहेक अन्यत्रको ट्राभल हिस्ट्री नभएका उनीहरुमा लक्षण सहित संक्रमण पुष्टि भएपछि भानु नगरपालिकाले कन्ट्याक ट्रसिङको आधारमा १२२ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाएको थियो ।

त्यसरी पठाएकामध्ये शुक्रबार बिहान ८४ जनाको रिपोर्ट आएकोमा २० जनामा संक्रमण पुष्टी भएको छ भने अझै ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

भानु–१ भन्सारका सुरक्षाकर्मी, वर्कसप, मासु व्यवसायी, निर्माण क्षेत्रमा काम गर्ने तथा स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म २११ जनामा संक्रमण पुष्टि भएकोमा १८० जना निको भएर घर फर्किएका छन् ।

तनहुँको देवघाट गाउँपालिकाका दुई जना स्थानीयलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । देवघाटका सामाजिक क्षेत्रमा सक्रीय व्यक्तिमै कोरोना संक्रमण भएपछि अहिले गाउँपालिकाको धार्मिक क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

यता बन्दीपुर गाउँपालिकाले पनि ३ वटा वडा सिल गरेको छ । छिमेकी पालिकाको समुदायस्तरमा संक्रमण देखिएपछि गाउँपालिकाले वडा नम्बर–१, ४ र ५ क्षेत्र सिल गरेको हो । गाउँपालिकाको यी वडामा पनि संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको भन्दै भदौ ५ गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिले हेटौडाबाट मजदुरहरु ल्याउँदा तनहुँमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आसंका गरिएको छ । हेटौडाबाट आएका निर्माण मजदुरहरुसंगको सम्पर्कमा आएका अधिकांशमा अहिले लक्षण सहितको संक्रमण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिदा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम संक्रमण देखिएका क्षेत्रलाई सिल गर्ने र संक्रमित व्यक्तिहरुलाई सुरक्षित रुपमा आइसोलेसनमा राख्ने तथा उपचारको व्यवस्थापन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

भानु नगरपालिकाको वडानम्बर–१ मा एकैदिन २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहिले समुदायस्तरमा भुषको आगो जस्तै संक्रमण फैलिएको हुनसक्ने त्रास बढेको छ ।

क्षयरोग उपचारकेन्द्र पोखराको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ वर्षीया बालिका सहित २० जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रमण देखिएका र जोखिमयुक्त ठाउँहरुलाई प्रशासन र स्थानीय तहको समन्वयमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा प्रवाह बन्द गरी सिल गर्ने निर्णय गरिएको छ ।

उक्त निर्णय पालना नगरेको पाइएमा संक्रमण रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने भएको छ ।

जनस्वास्थ्यलाई ख्याल गर्दै संक्रमण देखिएका क्षेत्रमा जिल्ला संकट व्यवस्थापन केन्द्र तथा स्थानीय तहको निर्णय कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई परिचालित गरिएको छ ।

संक्रमित व्यक्तिहरुलाई शुक्लागण्कडी नगरपालिकास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।
यससंग सम्बन्धित फुटेज एफटिपीमा समावेश गरिएको छ ।