सप्तरीमा आज २२ सुरक्षाकर्मीसहित २७ जनामा कोरोना संक्रमण

सप्तरीमा आज २२ सुरक्षाकर्मीसहित २७ जनामा कोरोना संक्रमण
शनिबार, साउन ३१, २०७७

सप्तरी-सप्तरीमा एकै दिन २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार शनिबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले सदरमुकाम राजविराज ८मा रहेको प्रदेश नम्बर–२ प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबारै प्राप्त पिसिआर परिक्षण रिपोर्टले राजविराज नगरपालि ६ की ६५ वर्षिया एक महिला, डाक्नेश्वरी नगरपालिका ३ का ४४ वर्षिय पुरुष तथा कञ्चनरुप नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका राजविराज ६ की ६५ वर्षीया महिला कोरोना संक्रमणबाट चारदिन अघि मृत्यु भएका ७५ वर्षीय बेचुलाल साहकी पत्नि हुन् ।

यता एकै दिन २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भएपछि उनीहरु कार्यरत प्रहरी तालिम केन्द्रमा आवश्यक सुरक्षा सतकर्ता बढाइएको छ ।

संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा ल्याउने तयारीका साथै उनीहरुका सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन कार्य समेत अघि बढाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै गत साउन ८ गतेदेखी जिल्लामा जारि गरिएको निषेधाज्ञा आगामी भदौं २ गतेसम्मका लागि जारि छ ।

जिल्ला सुरक्षा समितिको आगामी बस्ने बैठकमा निषेधाज्ञा थपघटका विषयमा निर्णय लिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।