फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ

फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ
सोमवार, भदौ १५, २०७७

सुर्खेत – सामाजिक सञ्जाल फेसबुकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले सामाजिक सञ्जालमा प्रजिअ रेग्मीलाई गालीगलौज गर्ने युवकलाई शनिबार पक्राउ गरिएको बताए ।

डीएसपी घर्तीका अनुसार पक्राउ परेका युवकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।