अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएलको उपाधि

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएलको उपाधि
शुक्रबार, भदौ २६, २०७७

एजेन्सी- ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।

ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे । यस्तै नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाए ।

ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २/२ विकेट लिए । यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो ।

सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो ।