त्रिभुवन विमानस्थलमा अब उडान र अवतरणमा जहाज होल्ड नहुने

त्रिभुवन विमानस्थलमा अब उडान र अवतरणमा जहाज होल्ड नहुने
मङ्लबार, भदौ ३०, २०७७

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण सम्पन्न भएका विभिन्न चारवटा आयोजनाको उद्घाटन गरेका छन् ।

उनले कोभिड १९ संक्रमणको अवस्थामा पनि विमानस्थलका कर्मचारी र निर्माण कम्पनीहरुले निरन्तर काम गरेकाले आयोजनाहरु समयमै सम्पन्न गर्न सम्भव भएको बताए ।

उनले अब अन्तर्राष्ट्रिय उडान पनि विस्तारै पुरानै लयमा फर्किने समेत बताए । पर्यटकहरु नेपाल ल्याउने, नेपाली नागरिकलाई ल्याउने र विभिन्न आयोजनामा काम गर्ने प्राविधिक कर्मचारीलाई ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि उडानहरुलाई विस्तारै पुरानै लयमा फर्काउन आवस्यक रहेको मन्त्री भट्टराईको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देशको ऐना समेत भएकाले बिमानस्थल भित्रका संरचनाहरुलाई सुधार गरिएको मन्त्री भट्टराईले बताए । विज्ञान र प्रविधिले विकास गरेका चिजहरुलाई लागू गरी विमानस्थलको क्षमता बढाउँदै लैजाने पनि भट्टराईले बताए ।

अहिले विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको र पार्किङ क्षेत्र समेत थपिएकाले अवदेखि कुनैपनि जहाज अवतरण र उडान गर्नका लागि होल्ड हुनुपर्ने अवस्थाको अन्त्य भएको समेत बताए ।

मन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिने बताए । निकट भविश्यमा ठूलो संख्यामा जहाज पार्किङ गर्ने र सहजै जहाजको उडान तथा अवतरण गर्ने गरी गुरुयोजना तयार पारिसकेको समेत उनले बताए ।

विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।