एसिड पीडितलाई संरक्षण गर्न नयाँ कानुन, अब हरेक वर्ष भदौ २५ मा एसिड आक्रमणविरूद्ध जागरण दिवस

एसिड पीडितलाई संरक्षण गर्न नयाँ कानुन, अब हरेक वर्ष भदौ २५ मा एसिड आक्रमणविरूद्ध जागरण दिवस
फाइल तस्वीर
बुधबार, भदौ ३१, २०७७

काठमाडौं- एसिड पीडितका लागि संरक्षण गर्न नयाँ कानुन लागु गरेको छ। भदौ २५ गते प्रधानमन्त्री एसिड आक्रमणका पीडितसँग गरेको छलफलका आधारमा ऐतिहासिक निर्णय गरिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

उनका अनुसार नेपाल सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाइसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न र एसिडको उत्पादन, निर्यात, आयात, बिक्रीवितरण र प्रयोगलाई नियमन गर्न नयाँ कानुनको मस्यौदा १५ दिन भित्र बनाउने छ।

त्यस्तै प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरूद्ध जागरण दिवसका रूपमा मनाउने निर्णय पनि गरिएको छ। एसिड आक्रमणका पीडितलाई तत्कालै नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाउने र त्यसको सबै खर्च सरकारले दिने निर्णय गरिएको छ। साथै त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई जिम्मेवार अस्पतालको रूपमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

एसिड आक्रमण पीडितलाई उच्च शिक्षासम्म अध्ययन गर्ने व्यवस्था सरकारले मिलाउने र क्षमता विकाससम्बन्धी तालिमका अवसरहरू लिन चाहनेलाई प्राथमिकताका साथ अवसर दिलाइने छ। साथै उद्योग मन्त्रालयले पीडितलाई रोजगारी दिलाउन नीजि क्षेत्रसँग आवश्यक समन्वय गर्ने एवम् पीडितले उद्योग व्यवसाय सञ्चालन वा कृषि गर्न चाहे सरकारले सहुलियत ऋण उपलब्ध गराउने छ।

सोमवारको मन्त्रिपरिषद्को बैठकले हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई पनि सहयोग उपलब्ध गराउने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।उनले राष्ट्र ब्याङ्कलाई लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा सहितको एक र दुई रुपैयाँको सिक्का छाप्न स्वीकृति दिएको पनि बताए।