आज कोशी र सहायक नदीमा बाढीको संभावना, सचेत रहन आग्रह

आज कोशी र सहायक नदीमा बाढीको संभावना, सचेत रहन आग्रह
फाइल तस्वीर
बुधबार, भदौ ३१, २०७७

काठमाडौं- आज कोशी र यसका सहायक नदीमा बहाव बढ्ने हुँदा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

उक्त शाखाका अनुसार कोशीको मुख्य सहायक नदी तमोरमा बहाव बढ्दो छ। धनकुटाको मूलघाट नजिक तमोरको जलसतह सतर्कता विन्दु नजिक पुगिसकेको छ।

तमोर नदी ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सीमाना, धनकुटा हुँदै सुनसरीमा पुगेर सप्तकोशीमा मिसिन्छ। उक्त नदीमा शुक्रबार पनि बाढीको संभावना रहेको जनाइएको छ। नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सजग रहन शाखाले आग्रह गरेको छ।

यता मौसम पूर्वानुमान शाखाले प्रदेश १ मा आज रातिदेखि भोलिसम्म भारी वर्षाको संभावना रहेको जनाएको छ। अहिले भने देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान शाखाले आगामी २४ घन्टामा प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको संभावना रहेको उल्लेख गरेको छ। ती स्थानहरुका नदीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भन्दै शाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।