करीव ६ महिनापछि आजबाट लामो दूरीका सवारी साधन सञ्चालन

करीव ६ महिनापछि आजबाट लामो दूरीका सवारी साधन सञ्चालन
बिहिबार, अशोज १, २०७७

काठमाडौं- गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालन हुने भएका छन् ।

कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ ।

बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । त्यसको अनुगमन ट्राफिक प्रहरी, विभाग, स्थानीय तहले गर्ने सहमति भएको छ ।

कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार प्रहरीले ठाउँठाउँमा चेक गर्नेछ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने मन्त्रिपरिषद्को निर्णय भएको र सो निणर्य पूर्ण कार्यान्वयन हुनेगरी तयारी भएको महानिर्देशक हमालले जानकारी दिए ।

साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ । यी नियम ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् ।

व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो ।

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायत मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको भाडादर लिएर स्वास्थ्य मापदण्ड पूरा गरी सवारी साधन चलाउन अनुरोध गरेका छन् ।