गण्डकी प्रदेशमा मात्र १०५ जनामा देखियो डेङ्गु

गण्डकी प्रदेशमा मात्र १०५ जनामा देखियो डेङ्गु
बिहिबार, अशोज १, २०७७

कास्की – गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ ।

हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।

कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले गत वर्ष पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।

म्याग्दीमा सबैभन्दा बढी डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यस अवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ ।

कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एकरएक जना डेङ्गुका बिरामी भेटिएका छन् ।