बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल जोखिम

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल जोखिम
आइतवार, अशोज ४, २०७७

मुरली गोडिया
बर्दिया– पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तीघाटमा निर्माण भएको पुल जोखिममा परेको छ । निर्माणकै क्रममा पुलको पूर्वी किनारामा एउटा पिलर थप गर्नुपर्नेमा तटबन्धको भरमा छाडिँदा पुल नदी कटानको जोखिममा परेको हो ।

बर्दियाको राजापुर क्षेत्रलाई कैलाली हुँदै पुर्व पश्चिम महेन्द्र राजमार्ग जोडने सत्तीघाट पुल नदी कटानको जोखिममा परेको छ । पुलको पूर्वी किनारातर्फ दुई वर्ष अघि भ्वाङ्ग परेर टालटुल पारिए पनि दीर्घकालीन रुपमा निकास नखोजिँदा यसबर्ष पनि तटबन्ध भासिएर भ्वाङ्ग पर्दा पुल नदी कटानको जोखिममा परेको हो ।

कटान भएको स्थानमा एउटा स्ल्यावसहित पिलर थप गर्नुपर्नेमा पिलर बिनै तटवन्ध बाँधेर माटो, ढुङ्गा पटानी गर्नाले नदी कटानको जोखिममा पुल परेको हो ।

पुल निर्माण हुने बेलामै पुलको लम्बाइ बढाउनु पर्ने अवाज उठेको थियो । निर्माणकै बेलादेखि दिइएको सल्लाह बमोजिम पुल निर्माण नगरे पछि समास्या देखिएको जनप्रतिनिधिको भनाइ छ ।

त्यसबेला पुलको स्थायी सुरक्षा गर्न स्पान थप्न विभिन्न निकायमा आग्रह गर्दा सुनुवाइ नभएपछि यो स्थिति आएको राजापुर नगरपालिकाले जनाएको छ । पानीको बहाब प्रत्येक वर्ष बढ्दा यो समास्या हरेका वर्ष दोहोरिने गरेको राजपुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले बताए ।

सत्तिघाट पुलमा प्राविधिक समास्या देखिएको छ । स्थानीय नगरिकसंग कुनै सल्लाह नै नलिई काम गर्दा यस्तो समस्या आएको गुनासो स्थानीयको छ । पुलको दीर्घकालीन समाधान गर्न सरोकारवाला निकाय, भौतिक योजना तथा पुर्वाधार मन्त्रालयसँग पहल भइरहेको प्रदेश नम्वर ५ का सांसद दीपेश थारुले बताए ।

पुल जोखिमपुर्ण अवस्थामा रहेको आफुलाई जानकारी प्राप्त भएपछि हुलाकी सडक आयोजना र सम्वन्धित ठेकेदारलाई निर्माणका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

नेपाल सरकारको विकास बजेट अन्तर्गत करिव ४५ करोडको लागतमा निर्माण भएको ५३१ मिटर लम्वाईको पुल जोखिममा भएपछि स्थानीयवासी त्रसित बनेका छन् ।