टेकुमा कोरोना परीक्षण गर्न जानेको संख्या झनै बढ्यो

टेकुमा कोरोना परीक्षण गर्न जानेको संख्या झनै बढ्यो
सोमवार, अशोज ५, २०७७

काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।

उपत्यका प्रवेशमा खुल्ला गरेपछि कामका लागि काठमाडौं आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो ।

कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन ।

जसका कारण अस्पताल बाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ ।

परिक्षणका लागि गेट बाहिर दिनहँु लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।

परीक्षण गर्न पुगेका मध्ये केहीले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहीले भने घरबेटीले कोरोना रिपोर्ट मागेकाले परीक्षण गर्न आएको बताएका छन् ।

सो अस्पतालमा हालसम्म करिव २९ हजार कोरोना परिक्षण गरिएको छ ।