आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लियो

आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लियो
सोमवार, अशोज ५, २०७७

काठमाडौं-कोरोना महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु भएको छ ।

आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहलपहल बाक्लिएको छ ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित संख्यामा चार्टड र कार्गो उडान मात्र भएकोमा आन्तरिक उडानका नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज भएको छ ।

बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भएको थियो ।

सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्ने गरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो ।

एक सातापछि क्रमशः उडान संख्या थपिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वायु सेवा प्रदायक कम्पनीहरुले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन् ।

सीमित संख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् ।