सीमा क्षेत्रमा माछा मार्न गएका नेपाली भारतीय नियन्त्रणमा

सीमा क्षेत्रमा माछा मार्न गएका नेपाली भारतीय नियन्त्रणमा
मङ्लबार, अशोज ६, २०७७

कञ्चनपुर-माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जना नेपालीलाई भारतीयले नियन्त्रणमा लिएका छन् ।

बेलडाँडी गाउँपालिका– ५ नजिकको खल्लाबाट हिजो चार जना नेपालीलाई भारतीयले नियन्त्रणमा लिएका हुन ।

सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको निजका परिवारजनले बताएको शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

बीओपी झिलमिलाका प्रहरी निरीक्षक गंगादत्त बोगटीको कमान्डमा नियन्त्रणमा लिएका व्यक्तिहरुको खोजी भईरहेको छ ।