सौराहाका होटल तथा रेष्टुरेन्ट खोल्ने तयारी

सौराहाका होटल तथा रेष्टुरेन्ट खोल्ने तयारी
मङ्लबार, अशोज ६, २०७७

चितवन-गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खोल्ने तयारी गरिएको छ ।

व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन ।

पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएपछि पर्यटन क्षेत्र पनि सूचारु हुने तयारी भएको हो ।

लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखी २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरीक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् ।

व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको भनाई छ । चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् ।

त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन् ।