खाद्य संस्थानले दशैंमा ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने

खाद्य संस्थानले दशैंमा ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने
मङ्लबार, अशोज ६, २०७७

काठमाडौं-खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताईन ।

कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताईन ।

संस्थानले विगतका वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगतका वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको थियो ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको थियो । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।