भारतीय सहयोगमा नेपालमा भएका पुनर्निर्माण बारे विवरण एउटै वेबसाइटमा

भारतीय सहयोगमा नेपालमा भएका पुनर्निर्माण बारे विवरण एउटै वेबसाइटमा
मङ्लबार, अशोज ६, २०७७

काठमाडौं – भारत सरकारको सहयोगमा नेपालमा भएका पुनर्निर्माणबारेको विवरणहरुअब एउटै वेबसाइटबाट लिन सकिने भएको छ ।

वेबसाइटको आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल विधिबाट उदघाटन गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको जानकारी www.goicbrinepal.com वेबसाइटमा संग्रहित गरिएको छ । वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा उपलब्ध छन् ।

सो वेबसाइट भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा र निर्माणमा तयार पारिएको हो ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।